बनेपा/एकीकृत अखिल नेपाल शिक्षक संगठन, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठन (विद्रोही)बीच सांगठनिक एकता घोषणा गरिएको छ।
एकता घोषणासँगै चेत बहादुर लामाको संयोजकत्वमा ८९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरिएको छ।
बनेपामा सम्पन्न एकता घोषणा कार्यक्रममा दिलिप जिम्बाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने सभापतित्व चेत बहादुर लामाले गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य तथा पूर्व जिल्ला विकास समिति सभापति कृष्ण प्रसाद सापकोटाले शिक्षक आन्दोलनलाई एकताबद्ध र सशक्त बनाउँदै शैक्षिक रूपान्तरणमा अग्रसर हुनुपर्ने आवश्यकता औंल्याउनुभयो।
उहाँले गुणस्तरीय शिक्षामा जोड दिँदै निशुल्क तथा अनिवार्य शिक्षाको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताउनुभयो। साथै, विद्यार्थीमा आलोचनात्मक चेत विकास गर्ने खालको शिक्षामा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
अर्का विशेष अतिथि काभ्रे निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार बसुन्धरा हुमागाईंले शिक्षकहरू परिवर्तनका मुख्य शक्ति भएको उल्लेख गर्दै “चुनाव चिन्ह तारा, जनताकी उम्मेदवार बसुन्धरा” भन्दै आगामी निर्वाचनमा सहयोग गर्न आग्रह गर्नुभयो। उहाँले काभ्रे निर्वाचन क्षेत्र नं. १ का नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार दिननाथ गौतमको पक्षमा समेत शिक्षकहरू कटिबद्ध भएर सहयोग गर्न अनुरोध गर्नुभयो।
विशेष अतिथिका रूपमा एकीकृत अखिल नेपाल शिक्षक संगठनका पूर्व उप–महासचिव झम्क प्रसाद चौलागाईंले संगठनहरूबीचको एकताले शिक्षकहरूको हकहित तथा पेशागत मर्यादाको संरक्षण गर्ने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व उप महासचिव कुवाङ छु लामाले शिक्षक एकताले नयाँ संदेश प्रवाह गरेको र आगामी दिनमा शिक्षा ऐन जारी गरी समग्र शिक्षाको विकास र पेसागत हितको सुनिश्चितताको लागि दबाब सृजना गर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा मण्डन देउपुर नगरपालिकाका मेयर टोक बहादुर वाइबा, नेकपा जिल्ला इन्चार्ज तेज बहादुर मिजार, जिल्ला संयोजक भोला अर्याल तथा नेकपा केन्द्रीय सदस्य राजीब लामालगायतको उपस्थिति रहेको थियो।
साथै, शिक्षक संगठनका केन्द्रीय पदाधिकारी पदम तिमल्सिना, लक्ष्मी लामा, नारायण उप्रेती, प्रदेश तथा जिल्ला तहका पदाधिकारी र संगठित शिक्षकहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रमले आगामी जिल्ला सम्मेलनलाई सफल बनाउन सबै तहका शिक्षकहरू एकताबद्ध भएर अघि बढ्न आह्वान गरेको छ।
source:- thearanikotimes.com