रुकुम पूर्व, २। फागुन नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तात्कालिन नेकपा (माओवादी)को ऐतिहासिक केन्द्रीय समिति बैठक बसेको स्थान चुनबाङ को भेरीडाँडा क्षेत्रको अवलोकन गर्नुभएको छ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहनु भएका प्रचण्ड मतदाता भेटघाटकै क्रममा आज बिहान उक्त ऐतिहासिक स्थल पुग्नु भएको हो।
वि.सं. २०६२ साल असोज महिनामा चुनबाङमा बसेको माओवादी केन्द्रीय समितिको बैठकलाई नेपालको राजनीतिक यात्रामा निर्णायक मोडका रूपमा लिइन्छ।
सो बैठकले लोकतान्त्रिक गणतन्त्रको अवधारणा अघि सार्दै संसदवादी दलहरूसँग सहकार्यको मार्ग प्रशस्त गरेको थियो।
त्यही बैठकबाट केन्द्रीय समितिको आकार ९५ सदस्यबाट ३५ जनामा सीमित गरिएको थियो, जसले संगठनात्मक रूपान्तरणको संकेत गरेको मानिन्छ।
भ्रमणका क्रममा संयोजक प्रचण्डले उक्त बैठकस्थल, आफू र पत्नी सीता दाहाल बस्नुभएको कोठा, छोरा प्रकाश दाहाल तथा अन्य नेताहरू बसेका स्थानहरूको अवलोकन गर्नुभयो।
परिवारका सदस्यहरूबारे उठेका जिज्ञासामा उहाँ केही भावुक देखिनु भयो र नेपाली क्रान्तिको प्रक्रियामा उनीहरूको योगदान रहेको छोटो प्रतिक्रिया दिनुभयो।
चुनबाङ बैठकले सशस्त्र संघर्षलाई शान्ति र लोकतान्त्रिक गणतन्त्रको बाटोतर्फ मोडेको उल्लेख गर्दै प्रचण्डले रुकुमलाई क्रान्तिको थालनी र शान्ति स्थापनासँग जोडिएको जिल्ला भएको बताउनु भयो।
आजै उहाँ चुनबाङकै गैरीगाउँमा मतदाता भेटघाट गर्नुहुने कार्यक्रम छ भने त्यसपछि पुथा उत्तरगंगा गाउँपालिकाको तकसेरामा पनि मतदातासँग संवाद गर्नुहुनेछ।
गत तीन दिनदेखि प्रचण्ड रुकुम पूर्वमा रहेर चुनावी भेटघाटमा सक्रिय हुनुहुन्छ। रुकुम पूर्व लुम्बिनी प्रदेशअन्तर्गतको एकमात्र पहाडी जिल्ला हो।
source:- thearanikotimes.com