Rajan Adhikari

© 2026 Rajan Adhikari

देउरालीदेखि फलामेटारसम्म दिननाथ गौतमको घरदैलो, सडक र कृषि प्राथमिकतामा

देउरालीदेखि फलामेटारसम्म दिननाथ गौतमको घरदैलो, सडक र कृषि प्राथमिकतामा

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकामा नेपाली कम्युनिष्ट पार्टीका क्षेत्र नं. १ का उम्मेदवार दिननाथ गौतमको घरदैलो अभियान तीव्र बनेको छ। वडा नं. ६ देउरालीबाट सुरु भएको घरदैलो कार्यक्रम वडा नं. १ अन्तर्गत दयाँगाउँ, घार्ने हुँदै फलामेटारसम्म पुगेको हो।

घरदैलो क्रममा समानुपातिक उम्मेदवार मिना पाख्रीन पनि सहभागी भई मतदाता तथा स्थानीयसँग प्रत्यक्ष भेटघाट र संवाद गरेकी थिइन्।

अभियानका क्रममा उम्मेदवार गौतमले तारा चिन्हमा मतदान गर्न आग्रह गर्दै स्थानीय आवश्यकता र समस्याको समाधानलाई आफ्नो मुख्य प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गरे।

गौतमले खानीखोला क्षेत्रको सबैभन्दा जटिल समस्या सडक रहेको उल्लेख गर्दै सडक सञ्जाल विस्तारलाई पहिलो एजेण्डाका रूपमा अघि बढाउने बताए।

“राजधानी नजिकै रहे पनि खानीखोला अझै दुर्गम अवस्थामा छ। सडक विस्तार भए कृषि, व्यापार र समग्र विकासले गति लिन्छ,” उनले भने।

धुलिखेलबाट करिब ७० किलोमिटर टाढा रहेको खानीखोला गाउँपालिका विकासका दृष्टिले पछाडि परे पनि सम्भावनाले भरिएको क्षेत्र भएको नेताहरूको भनाइ छ। ‘काभ्रेको कर्णाली’ भनेर चिनिने यस क्षेत्रका कृषि उत्पादनलाई बजारसँग जोड्ने स्पष्ट योजना आफूले अघि सारेको गौतमको भनाइ छ।

खुवा, कफी, अदुवा लगायत यहाँका प्रमुख कृषि उपजको बजार सुनिश्चित गरी किसानलाई उचित मूल्य दिलाउन पहल गर्ने प्रतिबद्धता पनि उनले जनाए।

विजयी भए संघीय सरकारसँग समन्वय गरी आवश्यक कार्यक्रम अघि बढाइने उनको भनाइ छ।

समानुपातिक उम्मेदवार मिना पाख्रीनले महिला, आदिवासी जनजाति तथा पिछडिएका समुदायको अधिकारका विषयमा आफू निरन्तर आवाज उठाउँदै आएको बताइन्।

संसदमा पुगेपछि खानीखोलाको विकासका लागि सक्दो भूमिका खेल्ने उनको प्रतिबद्धता थियो।

कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री रत्नप्रसाद ढकालले खानीखोला सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गर्दै बागमती प्रदेश सरकारमार्फत आवश्यक सहयोग गर्ने विश्वास दिलाए।

घरदैलो कार्यक्रममा केन्द्रीय सदस्य तथा क्षेत्र नं. १ का प्रचारप्रसार संयोजक अकल बहादुर थिङ (महेश), बागमती प्रदेश सचिव तथा खानीखोला अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ), प्रदेश कमिटी सचिवालय सदस्य दैबलाल घिसिङ (अनुसिल), जिल्ला कमिटी सदस्य तथा समाजसेवी राजन अधिकारी, मनिता लामा, श्रीजना थिङ, युवा नेता बिरेन लामा (निमा), दिनेश थिङ (चर्चित), सन्चमान थिङ, रामकाजी भोलन लगायतका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

खानीखोलामा तारा चिन्हको चुनावी अभियानले गति लिँदै गएको र स्थानीयबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भइरहेको आयोजकहरूको दाबी छ।

source:- thearanikotimes.com