रुकुम पूर्व। नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको संघर्ष समाप्त नभई नयाँ चरणमा प्रवेश गरेको बताउँदै अबको संघर्ष उत्पादन र समृद्धितर्फ केन्द्रित हुने स्पष्ट पार्नुभएको छ।
भूमे गाउँपालिका–२ खाबाङ बगरमा आयोजित ३०औँ जनयुद्ध दिवस कार्यक्रममा सम्बोधन गर्दै उहाँले नयाँ पुस्ताले उठाएका मागहरू जनयुद्धकै अधुरा एजेण्डाको निरन्तरता भएको उल्लेख गर्नुभयो। शान्ति प्रक्रियाका क्रममा पूरा हुन नसकेका मुद्दाहरू अझै बाँकी रहेको उहाँको भनाइ थियो।
संविधान जारी भएको एक दशकमा सुधारका प्रयास भए पनि अपेक्षित परिणाम आउन नसकेको उल्लेख गर्दै प्रचण्डले सरकारमा रहँदा भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण, युवालाई लक्षित उद्यमशीलता कार्यक्रम र स्टार्टअप प्रवर्द्धनका नीति ल्याइएको स्मरण गराउनुभयो। तर सरकार परिवर्तनसँगै ती कार्यक्रम अवरुद्ध भएको उहाँको आरोप थियो।
अबको लडाइँ “उत्पादनको युद्ध” हुने उल्लेख गर्दै उहाँले सूचना प्रविधि, कृषि, पर्यटन र उद्योग क्षेत्रमा ठूलो सम्भावना रहेको दाबी गर्नुभयो। आगामी पाँच वर्षभित्र लाखौँ रोजगारी सिर्जना गर्न सकिने भन्दै उहाँले नीति र इच्छाशक्ति भए परिणाम सम्भव हुने बताउनुभयो।
औषधि उत्पादन, हिमाल समृद्धि कार्यक्रम, मेगा फूड पार्क, इको–पर्यटन र हिल स्टेशनजस्ता योजनाहरू प्रभावकारी रूपमा अघि बढ्न नसकेको स्वीकार गर्दै उहाँले स्थिर सरकार नहुनु यसको प्रमुख कारण भएको धारणा राख्नुभयो।
कुशासन र भ्रष्टाचार बढ्दै गए व्यवस्थामै संकट आउन सक्ने चेतावनी दिँदै प्रचण्डले लोकतान्त्रिक उपलब्धिको रक्षा, अधुरा एजेण्डा पूरा र राष्ट्रिय एकताका लागि नयाँ ऊर्जा आवश्यक रहेको बताउनुभयो। “मेरो आजको संघर्ष रुकुमको विकास र देशको समृद्धिका लागि हुनेछ,” उहाँले भन्नुभयो।
source:- thearanikotimes.com